यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते



चितवन,कात्तिक १ । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते भएका छन्।

आइतबार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको हो।

दुर्घटनामा बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।

घाइतेमध्ये चितवनको राप्ती नगरपालिका–१० का २० वर्षीय सविन तामाङ, खैरहनी नगरपालिका–६ की ६० वर्षीया फूलमती यादव, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ की ५० वर्षीया कैशलिया देवी राम र उदयपुरको कटहरी नगरपालिका–१ का २३ वर्षीय अमृतबहादुर लुङ्गेली मगरको अवस्था मध्यम रहेको छ।

त्यस्तै, सुनसरीको हरिपुर चोककी २१ वर्षीया रमिना चौधरी थारू पनि घाइते भएकी छन्। १२ हप्ताकी गर्भवती उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको रक्सौलका ४३ वर्षीय मुकेश ठाकुर, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ का २२ वर्षीय सत्यम राम, सुनसरीको हरिपुर चोकका २५ वर्षीय अजय चौधरी थारू, चितवनको राप्ती नगरपालिका–५ की ४२ वर्षीया रीता देवी माझी र उनका सात वर्षीय छोरा आदित्य माझी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।

बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्