ओली समूहले गर्यो निर्वाचन आयोगका सहसचिवको सरुवा



काठमाडौं पुस २९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ ।
गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका गौतमलाइ नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ ।

सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतकाअनुसार पछिल्लो समय गौतमलाई ओली समूहले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो । तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सहसचिव गौतमको सरुवा गरेका हुन् । आयोगबाट किन सरुवा गरियो भन्नेबारेमा जिज्ञासा राख्दा सहसचिव गौतमले प्रतिक्रिया दिन मानेनन् । उनले सरकारले गर्ने नियमित प्रक्रिया अन्तर्गत सरुवा भएको बताए । बिहिबारदेखि उनले कानुन आयोगको जिम्मेवारी सम्हाल्ने छन् ।

गौतमको सरुवाप्रति नेकपा प्रचण्ड–नेपाल पक्षले सरकारको षडयन्त्रको रुपमा लिएको छ । उनको सरुवा गरेलगतै मंगलबार बेलुका प्रचण्ड नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका थिए । उनले ट्वीटरमा लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’

आयोगमा यतिबेला नेकपा प्रचण्ड–नेपाल पक्ष वा ओली पक्ष को बैधानिक र सूर्य चिन्ह कसले पाउने भन्ने बारेको मुद्धा बिचाराधीन रहेको छ । दुई पार्टीको बिचाराधीन मुद्धा हेरिरहेको उच्च कर्मचारी सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपा दुवै पक्षले बुझाएको विवरण पर्याप्त र चित्तबुझ्दो नभएको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २५ अनुसार विवरणहरु माग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्