ओलीका कारण लामो सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा पर्यो : प्रचण्ड



काठमाडौं पुस २९ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताएका छन् ।

आफैले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा परेको दाहालले बताए। प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधानमाथि आक्रमण भएकाले त्यसको रक्षाका लागि आफूहरू सडकमा आएको बताए ।

उनले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै देश र नागरिक सामु देखिएका सङ्कट समाधानका लागि एकजुट हुन सबैसँग आग्रह गरे। आफ्नै आँखा अगाडि निरङ्कुश ढङ्गले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको दाहालको भनाइ छ ।

निकै धेरै कसरतपछि मात्रै पार्टी एकताको घोषणा भएको भन्दै उहाँले पार्टी एकता हुनुभन्दा पहिले विचार र राजनीतिक कार्यदिशाका बारेमा धेरै चरणमा बहस भएको स्मरण गरे। मदन भण्डारी र नागरिकको बहुदलीय जनवाद, माओवादी आन्दोलन र २१ औँ शताब्दीको जनवादबारे एकताअघि निकै छलफल भएको र केपी ओलीसहित आफूले हस्ताक्षर गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्