सांसद तामाङको प्रश्‍न-जनताको अधिकार खोस्ने को हो केपी ओली ?



काठमाडौं पुस २९ ।

विघटित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको जनताको अधिकार खोस्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग नभएको बताएका छन् ।

नुवाकोट जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई बुधबार नुवाकोटको छहरे बजारमा सम्बोधन गर्दै नेकपा दाहाल-नेपाल पक्षका केन्द्रीय सदस्य, वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज तामाङले आफू जनताबाट ५ वर्षका जितेकाले ओलीले खोसेर खोस्न नसक्ने बताएका हुन् ।

घमण्डका साथ दाबी गर्छु म सांसद हुँ । तपाईंहरु जनता र कार्यकर्ताले विश्वास गरेर, वारेसनामा दिएर पठाउनुभएको सांसद हुँ पाँच वर्षका लागि । केपी ओलीले खोस्न सक्छ तपाईं र हाम्रो अधिकार ? को हो केपी ओली ? तिनले खोसेर खोस्न सक्ने यो संवैधानिक अधिकार हो ? होइन ।

पूर्वमन्त्री रहेका तामाङले अगाडि भने, तपाईंहरुले जनता र कार्यकर्ताले हितबहादुर तामाङ तिम्लाई ५ वर्षका लागि जिताएर पठाएका हौं, तिमीले बेइमानी गर्‍यो । तिमीले काम गर्‍यो भनेर तपाईंहरुले प्रत्याह्वान नगरेसम्म फर्कने छैन ।

नेता तामाङले वास्तवमै ओलीले चुनाव घोषणा गरेको हो भने उनी कामचलाउ प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै कार्यकारीको जस्तो व्यवहार देखाउने हैसियत गुमाइसकेको टिप्पणी गरे । हामीलाई असंवैधानिक घोषणा गर्दैगर्दा प्रधानमन्त्रीले आफ्नो हैसियत पनि ख्याल गरुन्, उनले चेतावनीको शैलीमा भने, हामी यदि प्रतिनिधिसभा सदस्य रहँदैनौं भने हामीले चुनेर पठाएको प्रधानमन्त्री पनि प्रधानमन्त्रीको रुपमा रहन सक्ने संवैधानिक अधिकार छैन । कानुनी अधिकार छैन । विगतको प्रचलित मान्यताअनुसार पनि निर्वाचन घोषणा गरिसकेपछि सरकार कामचलाउ हुन्छ ।

सांसद तामाङ मन्तव्यका क्रममा । तस्बिर: साझापथ

आफू निर्वाचित क्षेत्रमा आयोजित कार्यक्रममा निकै आक्रमक शैलीमा मन्तव्य राखेका सांसद तामाङले थपे, साँच्चि नै उनले ओलीले निर्वाचन घोषणा गरेको हो भने मेरो सरकार कामचलाउ हो भन्नु पर्छ । कार्यकारी हैसियतले जति मन्त्रीहरु थपेका छन् । उनीहरुलाई फिर्ता बोलाउनु पर्छ । के ती मन्त्रीहरुलाई उनले फिर्ता बोलाउँछन् ? अहिले पनि उनले चम्चे, दलालहरुलाई गाउँगाउँमा पठाइरहेका छन् । कोही मान्छे दुई दिन भए पनि झन्डा हल्लाएर हिँड्ने चाहना राख्ने मान्छेहरु छन् भने बालुवाटारमा घिसारेर लेराउनु भनेर मान्छे पठाएका छन् । उसले यो सरकारलाई कामचलाउको रुपमा स्थापित गर्न चाहेको छैन ।

उनले संसद् पुनर्स्थापना भएमा आफूहरुको पार्टी सबैभन्दा ठूलो हुने बताए । संघीय संसद्‌मा निर्वाचित रहेका २२० मध्ये आफ्नो पक्षमा ११५ मा जना सांसद् रहेको उनले बताए । ओली समूहमा ९५ भन्दा कम रहेको भन्दै त्यत्ति हुनु पनि पहिले माधव नेपाल र झलनाथ खनाल पक्षकालाई अन्याय गरेर उनले त्यत्ति संख्या बनाएको स्मरण गराए । असंवैधानिक तबरबाट ओलीले हठात घोषणा गरेको चुनाव आफूहरुले अस्वीकार गरेको पूर्वमन्त्री तामाङले प्रस्ट्याए ।

प्रचण्ड-माधव पक्षले नेतृत्व गरेको दल चुनावमा जान डराइरहेको भन्ने भनाइको खण्डन गर्दै तामाङले भोलि गलत नजिर नबसोस भनेर पुनर्स्थापनाको माग गरेको बताए । न्यायमूर्तिहरुले सही तरिकाले फैसला गरेमा संसद् पुनर्स्थापना हुनेमा कार्यकर्तालाई आश्वस्त तुलाउँदै सांसद तामाङले मान्छे मर्‍यो भन्दा पनि काल पल्यो भन्ने अवस्थाबाट जोगिन आफूहरुले संसद् पुनर्स्थापनाको माग उठाउनु परेको बताए । संसद् पुनर्स्थापना नभएसम्म आफूहरु आन्दोलनमा रहने भन्दै पूर्वमन्त्री तामाङले गाउँ गाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्