विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्छ : गृहमन्त्री थापा



काठमाडौं माघ २ ।

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै उनले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्नु पूर्व तयारी आवश्यक रहेको बताए ।

थापाले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए । २०७२ सालको भूकम्पको घाउ निको भइनसकेको भन्दै उनले पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुनर्निर्माणको काम पनि अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताए । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उनले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताए ।

विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताए । अहिले काठमाडौँ महानगरपालिकाले भूकम्पपीडित घरधनीलाई नक्शा पासको दस्तुर मिनाह गरेको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताए ।

जोखिमको जानकारी दिनका निम्ति पोर्टल निर्माण गरेको, भूकम्पको पूर्व तयारीका लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिए। काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्