ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेका छन् : नेपाल



दाङ माघ ३ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेको बताएका छन् ।

शनिबार दाङको तुलसीपुरमा उक्त समूहको जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केपी ओली स्वयंमले प्रतिनिधि सभा भंग भइसकेको बताउँदै आएको हुँदा उनी पनि प्रतिनिधि सभा सदस्य नरहेको र प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन पाउने हैसियत समाप्त भइसकेको तर्क गरेका हुन्।

अहिले पनि खड्कप्रसाद ओली प्रधानमन्त्रीको पदमा आसिन रहेको भए पनि अध्यक्ष नेपालले के अहिले पनि साँच्चै ओली नै प्रधानमन्त्री हुन त ? भन्ने प्रश्न गरे। आफूहरूको व्याख्यामा प्रतिनिधि सभा बेहोसमात्रै भएको र मरिनसकेको भन्ने उल्लेख रहे पनि प्रधानमन्त्री केपी ओलीले नै त्यो मरिसकेको व्याख्या गरेको हुँदा अब ओलीले सोही पदमा रही रहने हैसियत गुमाइसकेको अध्यक्ष नेपालले बताए।

त्यस्तै उनले काम चलाउ प्रधानमन्त्री ओलीले अहिले पनि फुलफेजको प्रधानमन्त्रीले जस्तै काम गर्न खोजेको भन्दै रोष प्रकट गरे । उनले काम चलाउ हैसियतका प्रधानमन्त्रीले दुरगामी महत्वको कुनै पनि निर्णय गर्न नपाउने धारणा राखे । विधि पालना गर्नेहरूले विधिका बारेमा गम्भीरताका साथ सोच्ने भए पनि विधि, विधान र संविधानसँग कुनै मतलब नराख्ने व्यक्तिले जे गर्दा पनि त्यही विधि हो भन्ने गरेको उनले बताए ।

उनले केपी ओलीको नाम सन्की, भष्मासुर लगाएत जेरजे राखे पनि हुने आरोप लगाए। पूर्वप्रधानमन्त्री नेपालले ओलीले गुटले जसलाई पायो त्यसैलाई केन्द्रीय सदस्य बनाउन थालेपछि राम्रो मान्छे बालुवाटारको बाटो हिँड्न समेत डराउन थालेको बताए। उनले केपी गुट मेला भन्दा पनि झमेलायुक्त भएको उनले बताए। ओलीको व्यवहारले आफू भुक्तभोगी रहे पनि प्रचण्ड र नारायणकाजीले भर्खरै मात्रै ओलीको व्यवहार बुझ्न पाएको अध्यक्ष नेपालले बताए ।

ओलीले आफूहरूलाई मात्रै नभएर शेरबहादुर देउवा, पत्रकार, कलाकार सबैलाई हेप्ने गरेको टिप्पणी गरे। केपीले काम गर्न दिएनन्, यो मान्छे भएन भनेर किचकिच गरे भन्नु सही नभएको उनले बताए। क्षमताको आधारमा विधि र विधानको आधारमा पार्टीमा योग्य मानिसलाई राखौं भन्दा ओलीले आफ्ना हनुमान मात्रै राख्न खोजेको बताए ।

उनले केपी ओलीलाई गफाडी र उखान टुक्कामा मात्रै माहिर व्यक्ति भएको बताए । उनले केपीले मदन भण्डारीको जबजको संरक्षक आफूलाई ठान्नु आफैंमा मजाग भएको टिप्पणी गरे। त्यस्तै उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई पठाएको सिफारिसमा संविधानको धारा नै उल्लेख नहुनुले ठूलो हतास मनस्थितिका साथ ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए।

उनले निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह र सर्वोच्च अदालतले पार्टी वैधानिकताका जिम्मा आफूहरूलाई नै दिने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्