प्रतिनिधि सभा विघटन मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने



काठमाडौं माघ ४ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ ।

आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ । आइतबारको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी भएका थिए।

सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो । बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन माग गरेका हुन्।

यसअघि रिटमा सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्नेबारेमा मतभेद भए पनि सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।

प्रतिक्रिया दिनुहोस्