रेल सञ्चालनको भाखा सरेको सर्‍यै



काठमाडौं, माघ ६। ३४ किलोमीटर खण्डको जनकपुर (कुर्था)–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउनसमेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ ओटा रेल परीक्षणका रूपमा सञ्चालन भएयता ती रेल पार्किङ गरेर राखिएको छ ।

रेल सञ्चालन गर्ने जिम्मा पाएको सरकारी लगानीको नेपाल रेलवे कम्पनी लिमिटेडले सञ्चालनका लागि तीनपटक भाखा सारेको छ । रेल नेपाल ल्याउँदा कात्तिकसम्ममा सञ्चालन गर्ने भनेको कम्पनीले त्यसयता पुसमा र अहिले माघ महीनाको अन्तिमसम्ममा रेल चलाउने नयाँ समयसीमा तयार गरेको छ ।

नेपालमा रेल ल्याएको ४ महीनासम्म पनि सो खण्डमा सञ्चालन हुन नसकेको रेलको उद्घाटन भने दुवै देशका प्रधानमन्त्रीहरूको सहभागितामा हुने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीहरूको उपस्थितिमा ती रेल सञ्चालनको प्रारम्भ गरिने तयारी भएकाले हाललाई निश्चित समय यकिन नभएको उनको भनाइ छ ।

रेल चलाउने तयारी अन्तिम चरणमा रहेको भन्दै उनले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीकै सहभागितामा रेल उद्घाटन हुने भएकाले अहिले मिति तय भइसकेको छैन । यद्यपि यही माघको अन्तिमसम्ममा रेल चलाउने तयारी कम्पनीले गरेको छ ।

कम्पनीले ती रेल चलाउने अन्तिम तयारी गरेको बताए पनि नेपाली कर्मचारी भर्ना प्रक्रिया भने अझै शुरू भएको छैन । कम्पनीले रेल ल्याउनुभन्दा केही दिनअघि भदौ २९ गते मात्रै विभिन्न २९ पदका लागि १२९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको थियो ।

करार सेवाबाट पदपूर्ति गर्ने तयारी गरेको कम्पनीको निर्णयमा लोकसेवा आयोगले चासो दिएर उसले नै पदपूर्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्