ट्रक र इभी गाडी ठोक्किँदा एक जनाको मृत्यु, ११ घाइते



सर्लाही,कात्तिक ८ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र इभी गाडी ठोक्किँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

शनिबार मध्याह्न भएको दुर्घटनामा १२ जना घाइते भएका थिए। गम्भीर घाइते बाराको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा कलैयास्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीका अनुसार अन्य ११ जना घाइतेमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको लालबन्दी र कलैयामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार सर्लाहीबाट महोत्तरीको बर्दीबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्