नुवाकोटका होल्डिङ सेन्टरबाटै बाढी प्रभावितलाई नागरिकताको प्रतिलिपि



नुवाकोट,कात्तिक ९ । नुवाकोटमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा महत्त्वपूर्ण कागजात तथा नागरिकता हराएका र नष्ट भएका प्रभावितलाई सहज सेवा दिने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार आइतबार नुवाकोटको पिपलटारमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जना प्रभावितको नागरिकताको प्रतिलिपिका लागि आवेदन फाराम संकलन गरिएको छ।

नागरिकता नहुँदा राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा समस्या नहोस् भन्ने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको उनले बताए। संकलित आवेदन जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकताको प्रतिलिपि तयार पार्ने र पुनः होल्डिङ सेन्टरमै पुर्‍याएर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले बताए। पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको र अन्य आवश्यक प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराइने उनले जानकारी दिए।

आवेदन फाराम संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्