हेरिटेज रनले काठमाडौंको संस्कृति र सम्पदासँग नागरिकलाई जोड्छ : डंगोल
काठमाडौं,कात्तिक ९ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ दौड प्रतियोगितामा मात्र सीमित नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग नागरिकलाई जोड्ने अवसर भएको बताएकी छन्।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित हेरिटेज रनका अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको बताइन्।
उनले काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले सहरको मौलिक पहिचान झल्काउने उल्लेख गर्दै हेरिटेज रनले नागरिकमा आफ्नो संस्कृति र सम्पदाप्रति अपनत्व बढाउने बताइन्।
‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ उनले भनिन्।
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सम्पदालाई नागरिकको दैनिक जीवनसँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो। महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षणसँगै तिनको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

