नदीमा पानी घट्दो, जलविद्युत् आयोजनाहरू जोखिममा



काठमाडौं, माघ ६ । नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुनेछन् ।

त्यसमा अहिलेसम्म भएको र हुने अर्बौं लगानी खेर जाने जोखिम अत्यधिक बढेको छ । पानीको बहाव मापनको आधार कोशी, नारायणी र कर्णाली नदीलाई मानिएको छ । यी बेसिनमा गरिएको बहाव मापनले गत वर्ष नदीमा पानीको मात्रा २६ वर्षयताकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । दस वर्षयता पानीको बहावमा ठूलो कमी आएको विभागको निष्कर्षमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक डा। जीवेन्द्र झा पनि सहमत छन् ।

विगत केही वर्षअघिदेखि पानी निरन्तर घट्दै गएको र तीन वर्षयता भने अत्यधिक घटेको विभागका हाइड्रोलोजिस्ट इन्जिनियर लेखनाथ बगाले बताउँछन् । नारायणी बेसिन अन्र्तगतको कालिगण्डकीमा २६ वर्षअघि ३५ हजार घनमिटर प्रतिसेकेन्ड रहेको पानीको बहाव गत वर्ष ९ हजारमाा झरेको छ । त्यस्तै, कास्की जिल्लाको मादी खोलाको पानी ६ वर्षयता २१ सय घनमिटरले घटेको छ ।

मादी खोलाबाट विभिन्न कम्पनीले करिब ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । विद्युत् प्राधिकरणले मादीको विद्युत् खरिदका लागि पीपीएसमेत गरिसकेको छ । तर पानीको मात्रा र बहावमा आएको ठूलो कमीका कारण मादी मात्र नभई अन्य जलविद्युत् आयोजनाहरूको समेत संकटमा पर्ने देखिएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्