प्रतिनिधि सभा विघटनविरुद्धको रिट : सर्वोच्चमा आजको बहस सकियो, अर्को सुनुवाइ भोलि हुने



काठमाडौं माघ ६ ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइको तेस्रो दिन मंगलवारको सुनुवाइ पनि सकिएको छ ।

अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव, हर्कबहादुर रावल, शेरबहादुर ढुंगाना, डा. रुद्र शर्मा, चन्द्रकान्त ज्ञवाली लगायतले बहस गरेका थिए ।

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले बहुमतको सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार संविधानले नदिएको जिकिर गरे । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्