तीन वर्षमा नभएको देशदौडाह एक महिनामा



काठमाडौं, माघ ७ । नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरणको तीन वर्षसम्म हुन नसकेको काम एकै महिनामा भएको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्ताको माझमा पुग्न नसके पनि प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित भएपछि दुवै समूह एक महिनाको अवधिमा कार्यकर्ता माझ पुगेका हुन् ।

प्रतिनिधिसभा विघटन भएसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टीको दुवै समूह देशव्यापी अभियानमा जुटेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आन्दोलन गर्ने अभियानसहित केन्द्रदेखि वडा तहसम्मको कार्यक्रम सञ्चालन गरेको छ भने नेकपा ओली समूहले वैशाखमा निर्वाचन हुने विश्वाससहित केन्द्रदेखि वडा तहसम्म अभियान सञ्चालन गरिरहेको छ ।

नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले निर्वाचनमा जनताले दुई तिहाइ बहुमत दिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गर्दै संसद् विघटन गरेपछि बाध्य भएर जनताको बीचमा जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीलाई एकताकै सन्देश लिएर कार्यकर्ता र जनताको माझमा जान मन थियो तर प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर असंवैधानिकरुपमा संसद् विघटन गरेपछि आन्दोलनमा जानुबाहेक अर्को विकल्प भएन ।’

संसद् विघटन भएसँगै दुवै समूहले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्ने शृंखला पनि बढ्दै गएको छ । संसद् विघटन भएको एक महिनाको अवधिमा दुवै समूह आ–आफ्नो आन्तरिक शक्ति बलियो बनाउने दौडधूपमा लागेका छन् । पार्टी एकता भएको तीन वर्षको बीचमा हुन नसकेको भेला, सभा एक महिनाभित्रै भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीभित्रबाट अवरोध नै अवरोध भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको तर्क गर्दै आउनुभएको छ । प्रतिनिधिसभा विघटनका विरुद्ध परेको एक दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत आइतबारदेखि निरन्तररुपमा सुनुवाइ हुँदै आएको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्