संसद् विघटनसँगै मनाङमा निर्वाचनको तयारी शुरु



मनाङ माघ ७ ।

संसद् विघटनसँगै आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ ।
संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ । हिमालपारिको जिल्ला मनाङमा आसन्न निर्वाचनको तयारी शुरु भएको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो ।

मतदान केन्द्र निर्धाण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको छ । चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने त्यस्तैगरी नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहने प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। जिल्लाभर चार गाउँपालिकामा जम्मा २८ वडा रहेका छन् । जिल्लाको २०६८ सालको जनगणनाअनुसार कूल जनसङ्ख्या ६ हजार १४७ जना रहेको मा । गत निर्वाचनमा जम्मा ५ हजार ८८१ मतदाता सङ्ख्यामध्ये प्रतिनिधिसभामा ४ हजार ३३५ मत खसेको थियो ।

त्यस्तै प्रदेशसभामा चार हजार ३३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय चामे मनाङले बताएको छ । सो निर्वाचनमा प्रतिनिधिसभामा १६ मत बदर भएको थियो भने प्रदेशसभामा १४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । जिल्ला निर्वाचनका अनुसार प्रत्येक वडामा सबैलाई पायक पर्ने स्थानमा मतदान केन्द्र निर्धारण गरिएको बताएको छ । हाल पछिल्लो मतदाता नामावली आइनसकेको निवार्चन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्