अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले शपथ ग्रहण गर्दै



एजेन्सी माघ ७ ।

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले शपथ ग्रहण गर्दैछन् ।

राजधानी वाशिङ्टन डीसीमा स्थानीय समयअनुसार बुधबार बिहान साढे ११ बजे अर्थात् नेपाली समयअनुसार आज राति सवा १० बजे हुने समारोहमा जो बाइडेनले पदको शपथको बेहोरा वाचन गर्ने बीबीसीले बताएको छ । शपथ लिएपछि जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् ।

उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसले पनि आजै सपथ लिनेछिन् । शपथ ग्रहणपछि राष्ट्रपति र उपराष्ट्रपति ह्वाइट हाउस प्रवेश गर्ने बीबीसीले बताएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ । कानुनअनुसार जनवरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् । शपथ समारोहका लागि वाशिङ्टन डीसीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गएको जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र सपथ ग्रहणको दिन वाशिङ्टन डीसीको धेरैजसो क्षेत्र बन्द हुनेछन् ।

सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई सहयोग गर्न नेशनल गार्डका १५ हजार सुरक्षाकर्मी खटाउने र सुरक्षा योजनाको नेतृत्व अमेरिकी गुप्तचर निकायले लिएको खबरमा उल्लेख छ । वाशिङ्टन डीसीमा अहिले सङ्कटकालको अवस्था छ र सत्तारोहणसम्म रहने बताइएको छ । राष्ट्रपति ट्रम्पले जनवरी ८ मा ट्वीट गर्दै शपथ ग्रहण समारोहमा भाग नलिने बताएका थिए । अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्युरेशनु भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्