बारामा भारतीय स्कारपियोको ठक्करबाट १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते



बारा,कात्तिक १। बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 19 G 9921 को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी १७ वर्षीय धिरज यादव, मोटरसाइकलमा सवार भोडहा निवासी १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि एलएस न्युरो अस्पताल पठाइएकोमा चालक धिरज यादवको उपचारका क्रममा बिहान ११ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्