रक्सौल–काठमाडौं रेलमार्ग : डीपीआर अध्ययनका लागि एमओयू हुँदै



काठमाडौं,माघ ८ । प्रस्तावित १३५ किलोमीटरको काठमाडौं–वीरगञ्ज–रक्सौल रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन समझदारीपत्र (एमओयू) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो रेलमार्गको डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन भारत सरकारसँग छिटै नै एमओयू गर्न लागेको हो ।

२०७४ मा प्रधानमन्त्री भएका हालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जादा यो रेलमार्गका विषयले प्रवेश पाएको थियो । त्यसयता भारतको सहयोगमा उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ र भारतले उक्त प्रतिवेदन नेपाललाई गतवर्ष हस्तान्तरण गरिसकेको छ । रेलमार्ग निर्माणको प्रस्ताव गरेको झन्डै ३ वर्षपछि डीपीआरका लागि बल्ल एमओयू गर्ने तयारी भएको छ ।

डीपीआर बनाउन सम्झौताको चरणमा रहेको र त्यसका लागि मन्त्रालयले अन्तिम तयारी गरेकाले छिट्टै नै एमओयूमा हस्ताक्षर हुने मन्त्रालयका सहसचिव रामहरि पोख्रेलले जानकारी दिए ।

‘अध्ययन अघि बढाउन भारत पनि सहमत भएकाले छिट्टै प्रक्रिया अघि बढ्ने छ,’ पोख्रेलले भने । मन्त्रालयका एक अधिकारीले एमओयू भएपछि बढीमा १८ महीनासम्ममा डीपीआर प्रतिवेदन तयार भइसक्ने जानकारी दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्