प्रधानमन्त्री ओली सिद्धान्तनिष्ट मान्छे होइनन् : माधव नेपाल



काठमाडौं माघ ९ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ट मान्छे नभएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए ।

नेपालले ओलीको कमद गैर संवैधानिक मात्र नभई संवैधानिक कू गरेको बताए । उनले भने, ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन ।

त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो । जननिर्वाचित व्यक्तिले पनि संवैधानिक कू गर्दो रहेछ । हामीले त पहिले राजामहाराजाले मात्र कू गर्छन् भन्ने सुनेका देखेका थियौँ ।’

संविधानसभाबाट बनेको संविधानले विधिको शासन स्थापित गर्न खोजेपनि प्रधानमन्त्री ओलीले त्यसलाई आफूमा केन्द्रित गरेको आरोप लगाए । उनले ओली एकाधिकारवादमा लागेको पनि आरोप लगाए ।

केपी ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्