माइतीघरमा प्रतिगमनविरूद्ध नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन



काठमाडौं माघ १० ।
प्रतिगमनविरूद्ध चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा शनिबार धर्ना तथा प्रदर्शन गरेको छ।

नागरिक अगुवाहरूको अगुवाइमा माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेपछि नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन गरिएको हो।

मध्याह्न १२ देखि १ बजेसम्म धर्ना र प्रदर्शन भएको हो। नागरिक अगुवाहरूले एक घन्टा प्रदर्शनपछि कोणसभा गरेका थिए। कोणसभामा बागमती सफाइ अभियन्ता राम शाह, अभियन्ता कर्म तामाङ र बृहत् नागरिक आन्दोलनका संयोजक युग पाठकले सम्बोधन गरेका थिए।

प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न लगायतका प्ले कार्ड देखाइएको थियो।

नागरिक अगुवाहरू सडकमा बसेरै प्रदर्शनमा सहभागी भएका थिए। प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकालेर सो जुलुस बालुवाटर पुग्ने छ। हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध सभा गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्