युरोपमा कोरोना खोपको अभाव, स्वास्थ्यकर्मीलाई खोप दिने कार्यक्रम समेत बन्द



एजेन्सी माघ १० ।

कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएपछि युरोपेली सङ्घ निराश बनेको छ।

यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ ठाउँमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम रोकिएको बताइएको छ। अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। युरोपेली देशमाहरुमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको बताइएको छ ।

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका विभिन्न क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने कार्यक्रम समेत बन्द गरिएको छ। गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो। बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो।

ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ।

प्रतिक्रिया दिनुहोस्