माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा



काठमाडौं, माघ ११। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली उनीहरूको हितमा केन्द्रित कार्यक्रम ल्याउन सहमत भएका हुन् ।

शनिबार तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

नेकपा–दाहाल नेपाल समूहका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका हुन् । पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीले ओली पक्षमा लागेको घोषणा गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ओलीले विगतमा नेतृत्वले गरेको गल्ती आफूले नगर्ने बताउँदै भने, ‘जनयुद्धको अवधिमा तपाईहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ ।

नेतृत्वले तपाईंहरूको भावनाको दुरूपयोग ग(यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, मबाट कहिल्यै गल्ती हुनेछैन ।’ नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुनेछैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्