माघ १७ गते चितवन आउँदै प्रधानमन्त्री ओली, हजारौ जनता सहभागी गराउने लक्ष्य



चितवन माघ ११ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चितवन जाने भएका छन् ।
ओलीले नेकपा चितवनले आयोजना गर्ने बृहत जनसभामा सम्बोधनसँगै भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली माघ १७ गते चितवन जाने भएका हुन् । आज आइतबार भरतपुरमा नेकपा ओली पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा जनसभाको बारेमा जानकारी दिइएको छ । सभामा चितवनका विभिन्न पालिकाबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ । दिउसो १२ बजेबाट आमसभा सुरु हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताइन ।

पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताइन् । संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तरगत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तरगत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो ।

रावलले केन्द्रीय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवस्यक नरहेको बताइन । तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढिरहेको बताउँदै उनले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको बताइन।

प्रतिक्रिया दिनुहोस्