राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल



काठमाडौं माघ १३ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

६९ औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले निजी क्षेत्र र भन्सार प्रशासनबीच अभिन्न सम्बन्ध हुनुपर्ने औंल्याए । मन्त्री पौडेलले निजी क्षेत्र विना भन्सार र भन्सार विना निजी क्षेत्रको अस्तित्व नहुने भएकाले आपसी समस्या समाधान गर्दै जानुपर्ने बताए।

भन्सारसँग सम्बन्धित विषयमा निजी क्षेत्रका गुनासा आउने गरेको भन्दै त्यसलाई व्यवहारिक र कानुनी तवरबाट समाधान गर्दै जानुपर्नेमा उनले जोड दिए। उक्त कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले भन्सारलाई सुदृढ गर्नका लागि सरकार लागिपरेको बताएका छन् ।

सूचना प्रविधिमा आधारित प्रणाली विकासमा सरकारले भन्सार प्रशासनमा लगानी बढाउँदै गएको र त्यसको परिणाम देखिन थालेको ढुंगानाले बताए । यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सारले पछिल्लो समय ल्याएका सुविधाहरु अझै सुदृढ हुनुपर्ने बताए। पूर्वादेश र एकद्वार सेवा प्रयोगका लागि अझ सरल नीति लिनुपर्ने उनको भनाइ छ।

गोल्छाले अहिलेको मुख्य समस्या दक्षिणको नाकामा हुने अनधिकृत व्यापार नियन्त्रणमा सरकारी हस्तक्षेप आवश्यक भएको बताए। अझै पनि व्यापार लगात धेरै तथा प्रक्रियागत झन्झट कायमै भएकाले सुधार हुनुपर्ने उनको भनाइ छ। भन्सारले डिजिटाइजेशनका क्षेत्रमा उदाहरणीय काम गरिरहेको नेपाल उद्योग परिसंघका कार्यबहाक अध्यक्ष विष्णु अग्रवालले बताए ।

सेवा प्रावाहको क्षेत्रमा आधुनिक प्रणालीको विकास र विस्तार हुँदै गएकाले आफूहरुलाई काम गर्न पनि सहज हुँदै गएको र यसबाट व्यापार लागत न्यून हुँदै गएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्