आजदेखि एनपिएलको तेस्रो संस्करण, विजेतालाई डेढ करोड पुरस्कार
काठमाडौं,कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यता, निर्णय समीक्षा प्रणाली (डिआरएस) प्रविधिको प्रयोग र विदेशी खेलाडीको बढ्दो सहभागिताले यसपटकको एनपिएललाई विशेष बनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर र अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ। डिआरएस प्रविधिको प्रयोगले खेलमा निर्णयको विश्वसनीयता बढाउने विश्वास गरिएको छ भने विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ९० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटप्रेमीमा उत्साह थप्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

