‘नेशनल पेमेन्ट स्वीच’ प्राविधिक तयारी अन्तिम चरणमा



काठमाडौं, माघ १४ । बैंकिङ प्रणालीमा विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन आफ्नै देशको ‘नेशनल पेमेन्ट स्वीच’ स्थापनाका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट यस्तो स्वीच बनाउन अधिकार पाएको नेपाल क्लीयरिङ हाउस लिमिटेड (एनसीएचएल)ले विस्तृत प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ ।

प्रतिवेदनमाथि २–३ दिनभित्र छलफल गरेर राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा पठाइने एनसीएचएलका अध्यक्ष नरेश शाक्यले जानकारी दिए । उनका अनुसार हालसम्म सञ्चालनमा रहेका आईपीएस, कनेक्ट आईपीएस र बजारमा चलेका वालेट, क्यूआर कोड, डेबिट तथा क्रेडिट कार्डलगायत विद्युतीय भुक्तानी प्रणालीहरू सबैलाई स्वीच मा समावेश गरिनेछ । एनसीएचएलको प्राविधिक कमिटीले तयार पारेको प्रतिवेदनलाई अब बोर्डमा छलफल गरेर राष्ट्र बैंकलाई बुझाउने अध्यक्ष नरेश शाक्यले बताए ।

यसअघि गरिएको प्रारम्भिक अध्ययनबारे बोर्डमा छलफल भएको जानकारी दिँदै उनले अभियानसँग भने, ‘प्रारम्भिक अध्ययन प्रतिवेदनले स्वीचको प्राविधिक काम एनसीएचएलले गर्न सक्ने निचोड निकालेको थियो । तर, प्राविधिक तयारीका लागि थप कार्यालय जरुरी भएकाले हामीले दुईओटा प्mल्याट भाडामा लिएका छौं । थप प्राविधिक कर्मचारीसमेत आवश्यक पर्ने भएकाले २–४ महीनामै थप्छौं ।’

नेशनल पेमेन्ट स्वीचको प्रणाली ल्याउनेबित्तिकै कर्मचारीलाई पनि तालीम दिर्नुुपर्नेलगायत पूर्वतयारी आवश्यक भएकाले यसमा जोड दिएको राष्ट्र बैंक बैंकिङ विभागका कार्यकारी निर्देशकसमेत रहेका शाक्यले जानकारी दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्