एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो



काठमाडौं, माघ १४ । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली र उद्योगका प्रतिनिधिहरूको सहभागितामा सोमवारदेखि १ हप्ताका लागि परीक्षण उत्पादन शुरू गरिएको हो । १ हप्तापछि भने व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू हुने एभरेस्ट सुगर मिल्सका कार्यकारी निर्देशक सरेस सर्राफले बताए ।

उक्त उद्योगबाट उत्पादित विद्युत् प्राधिकरणको औराही सबस्टेशनमा जोडिएको हो । सबस्टेशन र उद्योगबीचको दूरी भने १२ किलोमीटर छ । यससँगै चिनी उद्योगबाट प्राधिकरणलाई विद्युत् विक्री गर्ने एभरेस्ट सुगर मिल्स पहिलो चिनी मिल बनेको छ ।

उक्त उद्योगले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गत पुस ८ गते विद्युत् विकास विभागबाट उत्पादनको अनुमतिपत्र लिएको थियो । यद्यपि अनुमतिपत्र अनुसार हाल ३ मेगावाट विद्युत् नै उत्पादन भएको छैन । अहिले करीब २ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको कार्यकारी निर्देशक सर्राफले बताए ।

‘अहिले पर्याप्त मात्रामा उखु पाइएको छैन । त्यसको असरले ३ मेगावाट नै विद्युत् उत्पादन गर्न सकिएको छैन,’ उनले भने । व्यावसायिक उत्पादन शुरू भएपछि दैनिक ७५ हजार युनिट विद्युत् प्राधिकरणलाई दिन सकिने उनको भनाइ छ । परीक्षण अवधिमा ५० हजार युुनिटसम्म विद्युत् उत्पादन भइरहेको उनले बताए ।

विद्युत् उत्पादन शुरू गरेसँगै कम्पनीको आम्दानीको स्रोत पनि बढेको कार्यकारी निर्देशक सर्राफले बताए । ‘पहिला चिनी नै कम्पनीको मुख्य आम्दानीको स्रोत थियो । अब विद्युत् पनि आम्दानीको बलियो आधार बन्नेछ,’ उनले भने ।

यसअघि नै प्राधिकरण र उद्योगबीच प्रतियुनिट ८ रुपैयाँ ४० पैसाको दरमा विद्युत् किनबेच गर्नेगरी सम्झौता भइसकेको छ । अब प्राधिकरणले सोहीअनुसार नै उक्त उद्योगलाई विद्युत् महसुल भुक्तानी गर्नेछ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्