जिल्ला प्रशासन कार्यालयका सेवाग्राहीलाई दुःख दिएको आरोपमा सात बिचौलिया पक्राउ
काठमाडौं,मंसिर १२। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यस्तै, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पनि पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

