दसौँ राष्ट्रिय खेलकुद : बागमतीलाई हराउँदै आर्मीको लगातार दोस्रो जित
सुर्खेत,मंसिर १२ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार कर्णाली प्रदेश रङ्गशाला, वीरेन्द्रनगरमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए। त्यसपछि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे।
खेलमा आर्मीका लाकेन लिम्बूले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाए। बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
यसअघि पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको आर्मीले बागमतीलाई पनि पराजित गर्दै कुल ६ अङ्क जोडेको छ। पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको भने एक अङ्क रहेको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच तथा दिउँसो २ः३० बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

