विद्युत् महसुलमा लाग्ने भ्याट सहज बनाउने सरकारको तयारी



पोखरा,मंसिर १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले शुक्रबार साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए।

विद्युत् महसुलमा भ्याट लगाउँदा उपभोक्तालाई थप आर्थिक भार परेको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उनले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

उनले भ्याट सहज बनाउनेसँगै उपभोक्तालाई अन्य सहुलियत दिन सकिने सम्भावनाबारे पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए। अतिरिक्त शुल्कका विषयमा समेत पुनर्विचार गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ।

मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभाबी अनुमति दिइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्ने काम भइरहेको पनि बताए। धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उनको भनाइ थियो।

कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको उल्लेख गर्दै उनले नदीलाई प्राकृतिक रूपमा स्वतन्त्र बग्न दिनुपर्नेमा जोड दिए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ योजना ल्याउनुभन्दा विगतका निर्णय र व्यवस्थालाई सुधार गर्नु बढी चुनौतीपूर्ण रहेको उनले बताए। जलविद्युत् आयोजना सञ्चालनका क्रममा स्थानीयवासी र प्रवर्द्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिए।

जलविद्युत् प्रवर्द्धकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँग समन्वय गरी समुदायको हितमा काम गर्नुपर्ने र सामुदायिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

उनले व्यक्ति नभई विधिबाट शासन सञ्चालन हुने राज्य निर्माण गर्ने सरकारको प्रयास रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्