दसौँ राष्ट्रिय खेलकुदमा शारीरिक सुगठनतर्फ आर्मीलाई तीन स्वर्ण



रुकुम पश्चिम,मंसिर १२। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक जितेको छ।

पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न आठ विधाका प्रतिस्पर्धामा आर्मीले तीन स्वर्णसहित पदक हासिल गरेको मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिए।

प्रतियोगिताको एमएसपी (१७० भन्दा माथि) विधामा आर्मीका पुकार शाक्यले स्वर्ण, नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले कास्य पदक जिते।

महिलातर्फ डब्लुबी विधामा बागमतीकी उर्मिला श्रेष्ठले स्वर्ण, आर्मीकी सृजना घिसिङले रजत र गण्डकीकी आशा चौधरीले कास्य पदक प्राप्त गरे। अर्को महिला विधामा सशस्त्र प्रहरीकी शीला ठकुरीले स्वर्ण, बागमतीकी तारा कैंजुले रजत र नेपाल प्रहरीकी रिपु घर्तीले कास्य पदक जितिन्।

वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा आर्मीकी शिवानी लामाले स्वर्ण, गण्डकीकी बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले कास्य पदक प्राप्त गरे।

त्यस्तै, मेन्स क्लासिक बडीबिल्डिङ विधामा आर्मीका अनिश रसाइलीले स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेसका हरिनारायण साहले कास्य पदक जिते।

एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण, बागमतीका सबिन चौलागाईंले रजत र लुम्बिनीका रेशम रानाले कास्य पदक प्राप्त गरे।

एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण, लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङले कास्य पदक जिते।

यसैगरी, एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जनले स्वर्ण, आर्मीका ज्ञानेश्वर चौधरीले रजत र बागमतीका राज शाहीले कास्य पदक प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्