रेडपान्डाको छालासहित ३ जना पक्राउ



बाँके माघ १५ । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेडपान्डाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।

उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पान्डाको छालाको अबैध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्