निर्वाचन आयोगले नेकपाका दुबै पक्षसंग निर्वाचनको तयारी बारे छलफल गर्दैं



कामठमाडौं माघ १५

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ ।

अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई आयोगले बोलाएको हो । यसका लागि छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको उनले बताए । २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको पनि उनले जनाकारी दिए । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

आउँदो वैशाखका लागि घोषणा भएको चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने समय नजिकिएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि नेकपाको दुई वटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

निवेदनमाथि निर्णय गर्दै आयोगले दुवै पक्षको दाबी नपुग्ने निष्कर्ष निकालिसकेको छ । यता राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले भने मान्यता दिएको छैन ।
नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो । त्यसपछि नेकपा विवाद थप पेचिलो हुदै आएको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णसँगै नेकपामा ओली र प्रचण्ड माधव समुहका गतिविधि फरक फरक ढंगले चल्दै आएका छन् । दाहाल नेपाल समुह सरकारविरुद्ध अहिले सडकमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्