जनताको विश्वास फर्काउन नेकपाको दुई महिने जागरण अभियान
काठमाडौं,कात्तिक ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै जनताको विश्वास फर्काउन मंसिर २५ गतेसम्म चल्ने दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।
शनिबार पेरिसडाँडामा अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतामुखी र केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै जनताका गुनासा सुन्न गाउँगाउँ पुग्ने बताए। अभियानका क्रममा महँगी, बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको ढिलासुस्ती र वैदेशिक रोजगारीलगायत समस्याबारे तथ्य संकलन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने पार्टीले जनाएको छ।
नेकपाले दुईतिहाइको वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै भोटेकोशी बाढीपीडितको राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्न माग गरेको छ। अभियान अवधिमा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका कामसमेत गरिनेछ।
पत्रकार सम्मेलनमा संयोजक प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताए। सहसंयोजक माधवकुमार नेपालले भने विगत ३५ वर्षमा पुराना दलहरूले केही काम नगरेको भन्ने भाष्यलाई तथ्यका आधारमा पुष्टि गर्न चुनौती दिँदै कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए।

