बिहीबार शेयर कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड



काठमाडौं, माघ १६ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।

बिहीबार रु। ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो । यसअघि गत मंसिर १४ गतेको रु। ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार रेकर्ड माघ ११ गते रु। ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबारले ब्रेक गरेको थियो ।

बिहीवार भएको शेयर कारोबार कित्ता पनि हालसम्मकै उच्च रहेको छ । यसअघिको कारोबारमा २ करोडभन्दा कम कित्ता मात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सले नै ओगटेको छ ।

नेपाल लाइफको रु। ५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु। ६२ ले घटेर अन्तिम मूल्य रु। २ हजार ३४९ कायम भएको छ ।

बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो । कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन नेप्से परिसूचक भने १६ दशमलव ५५ अंक घटेर २ हजार ४२५ दशमलव २९ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३२ अंक घटेर ४४२ दशमलव शून्य ६ विन्दुमा बन्द भएको छ ।

बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले बढेको छ ।यो दिन उत्पादन तथा प्रशोधनको २ दशमलव ८२ प्रतिशत र लघुवित्तको २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बैंकिङ समूहको सर्वाधिक २ दशमलव ३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको शून्य दशमलव १७ प्रतिशत, होटलको १ दशमलव २७ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, जलविद्युत्को १ दशमलव २१ प्रतिशत, वित्तको १ दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव ५७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७९ प्रतिशत परिसूचक घटेको हो ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्