आज शहीद दिवस मनाइदै



काठमाडौ,माघ १६ । आज देशभर विभिन्न कार्यक्रमसहित शहीदहरुको सम्झना गरिँदैछ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मुख्य शहीद मान्ने गरिएको छ ।

प्रजातन्त्रको लागि सक्रिय रहँदा यी चारै जनालाई राणा शासकले १९९७ सालमा हत्या गरेका थिए ।  मुलुकमा प्रजातन्त्र ल्याउन सक्रिय भएकै कारण राणा शासकले १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकूस्थित पचलीमा हत्या गरिएको थियो । धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा हत्या गरिएको थियो । गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा हत्या गरिएको थियो ।

प्रजातन्त्र आएपछि यी चारै जनाको सम्झनामा माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।  विगतमा जस्तै यस वर्ष पनि शहीदको सम्झनामा १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । आज शहीदका शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अपर्ण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्