पञ्‍चकन्या गाउँपालिकाले अघि बढायो निर्वाचन प्रक्रिया, मतदाता नामावलीमा त्रुटि सच्याउन/दाबीविरोध गर्न तीन दिन समय



नुवाकोट माघ १५ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गरेर पञ्‍चकन्याले गाउँपालिकाअन्तर्गत मतदाता नामावलीमा त्रुटि सच्याउन/दाबी विरोध गर्न/दोहोरो परेको नामावली हटाउनका लागि तीन दिनको समय दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि न्यौपानेले बिहीबार सूचना जारी गर्दै १६ माघ शुक्रबारदेखि १८ गतेसम्म पञ्‍चकन्या गाउँपालिकाको कार्यालय र सहायक नाम दर्ता अधिकारी असलीमाया तामाङलाई सम्पर्क गर्नका लागि पालिकावासी सबै नागरिकलाई अनुरोध गरेका हुन् ।

निर्वाचन आयोग र सम्बन्धित निकायहरुले निर्वाचनका कामहरु अगाडि बढाए पनि प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन भन्ने विषय अझै टुंगो लागिसकेको छैन । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्