निर्वाचन आयोगलाई नेकपा प्रचण्ड-नेपालको आग्रह, ‘छलफल केही दिन पर सारिदिनु’



काठमाडौं माघ १६ । नेकपा प्रचण्ड-नेपाल पक्षले आफूहरुसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयं उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने उक्त पार्टीले जनाएको छ ।

लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेकपा केपी शर्मा ओली समूह निर्वाचन हुनुपर्नेमा लागेको छ भने प्रचण्ड-नेपाल समूह असंवैधानिक तवरबाट संसद् विघटन गरिएकोले पुनर्स्थापनाको पक्षमा आन्दोलन गरिरहेको छ । यसबारेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्