कमल थापाले भने : संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो



काठमाडौं माघ १६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटन पछिको अवस्थाले संविधान र व्यवस्था माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

आज जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन उनले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । नयाँ नेपाल निर्माण,आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिबर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार ,कुशासन ,धर्मपरिबर्तन,बेरोजगारी र सर्वसत्ताबादको जातोमा पिसिनु पर्ने बाध्यात्मक अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए।

पार्टीको आगामी कार्यदिशा संगठन ,जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी बिभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत बताए । पार्टीको भविष्यप्रती निश्चिन्त हुन आग्रह गर्दै थापाले आफू सहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनिले पबित्र धार्मिक ग्रन्थ ूगिताू छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश,जनता ,प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत ब्यक्त गरे।

देशब्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र एजेन्डालाई स्थापित गर्ने बिषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए ।

चरणबद्ध रुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्