अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे सरकारको धारणा माग



काठमाडौं,कात्तिक ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा माग गरेका छन्।

एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने युग सकिएको बताएका थिए।

थापाले उक्त अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गर्दै नेपालको राष्ट्रवाद कुनै देशको विरोध नभई राष्ट्रिय सार्वभौमिकता र जनताको हितको रक्षामा केन्द्रित रहेको बताएका छन्। भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहनुका साथै सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषय उठाउनु भारतविरोध नभई राष्ट्रिय हितप्रतिको प्रतिबद्धता भएको उनको भनाइ छ।

वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको ‘मुनरो डक्ट्रिन’को प्रभाव त होइन भन्दै प्रश्न गरेका थापाले यस विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने र सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्