कोजाग्रत पूर्णिमासँगै बडादसैँ पर्व आज समापन हुँदै



काठमाडौं,कात्तिक ८ । नेपालीले भव्यरूपमा मनाउने १५ दिन लामो बडादसैँ पर्व धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना तथा रातभर जाग्राम बसेर आज समापन गरिँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। यस दिन जाग्राम बसेका मानिसका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले बताए।

आज अखिल बलिपूर्तिसँगै विजयादशमीदेखि मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ। आजै जमरा नदी, तलाउ तथा पोखरीमा विसर्जन गरिन्छ। नवरात्र विजयादशमीका दिन सकिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै समाप्त हुने धार्मिक मान्यता छ।

कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पूजा गर्ने र जुवा खेल्ने परम्परासमेत रहेको छ। समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक ९ गते सोमबारदेखि कार्तिक स्नान, तुलसीको विशेष पूजाआराधना र आकाशदीपदान सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्