आचारसंहिता र दल दर्ता छिट्टै घोषणा गर्ने निर्वाचन आयोगको तयारी



काठमाडौं माघ १७ ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ।

आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ। निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ। निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ।

दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ।

कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए। निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुरुकै काम भनेको नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो।

आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्