पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, प्रतिलिटर ३६ पैसा उपभोक्तालाई भार



काठमाडौं माघ १७ ।
नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ ।

गम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन प्रतिलिटर ३ प्रतिशतमा बृद्धि गर्ने निर्णय गरेको हो । पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा वृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम भन्दा कम रकममा व्यवसायीहरुको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन् । ‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ, पौडेलेले भने ।

विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ । व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औषत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनकाअनुसार प्राविधिक क्षतिबापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ । १२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो ।

निगमको नयाँ निर्णयसँगै व्यवसायीहरुले आइतबारदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले आइतबारदेखि बागमतीमा पेट्रोल बिक्री नगर्न बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्