नेप्सेमा २.२६ प्रतिशतको गिरावट, करिब नौ अर्बको कारोबार



काठमाडौं माघ १८ ।

साताको पहिलो दिन आइतबार सेयरबजारमा उच्च अंकको गिरावट आयो ।

सेयरबजार परिसूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से उच्च अंकले ओर्लिएको हो ।

जीवन बिमा समूह सबैभन्दा उच्च ४६० अंकले ओर्लियो । यस्तै, निर्जीवन बिमा समूह पनि २६४ अंकले झर्दा लघुवित्त र उत्पादनमूलक समूह सय अंक बढीले घटे । वाणिज्य बैंक समूह ४२ अंकले घट्दा विकास बैंक समूह ५१ अंक बढीले घट्यो भने वित्त समूहमा पनि ५० अंकको गिरावट आयो ।

यसैगरी, टेलिकम सूचीकृत अन्य समूह पनि साढे २५ अंकले ओर्लियो । यसदिन २०६ कम्पनीको एक करोड ६२ लाख कित्ता सेयर आठ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।यसदिन १६१ कम्पनीको सेयर भाउ घट्यो । १० कम्पनीका सेयरधनीले कमाउँदा चारवटा कम्पनीको सेयर भाउ भने स्थिर रह्यो ।

आज पनि प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो भने सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य पनि करिब ९ प्रतिशतले बढ्यो । कारोबार भने नेपाल लाइफ इन्स्यारेन्सको नै सबैभन्दा बढी भयो । यो कम्पनीको मात्रै ४३ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्