बुढीगण्डकी बाढी प्रभावितलाई रेडक्रसद्वारा राहत सामग्री वितरण
गोरखा,कात्तिक ९ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले बुढीगण्डकी बाढी प्रभावित गोरखाको आरुघाट गाउँपालिका–५ शान्ति बजारमा स्थलगत अनुगमन गरी राहत सामग्री वितरण गरेको छ।
आइतबार गरिएको अनुगमनका क्रममा बाढी प्रभावित परिवारलाई डिग्निटी किट र डस्टबिन वितरण गरिएको हो।
अनुगमन टोलीमा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका पूर्वमहामन्त्री दीपेन्द्रराज ढकाल, गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, उपमहासचिव कृष्णचन्द्र पाण्डे, गोरखा जिल्ला शाखाका सभापति भीमसेन काजी बाँनियालगायत प्रदेश सदस्य, स्वयंसेवक तथा अन्य प्रतिनिधि सहभागी थिए।
टोलीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित परिवारको आवश्यकता र आश्रयस्थल व्यवस्थापनबारे जानकारी लिएको थियो। साथै, आगामी दिनमा आवश्यक राहत व्यवस्थापन तथा अन्य कार्यलाई प्रभावकारी बनाउन जिल्ला शाखासँग संयुक्त बैठक गरी सरोकारवालासँग छलफलसमेत गरेको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले जनाएको छ।

