काठमाडौंको फुटुङमा बर्डफ्लु, कुखुराको मूल्य घट्यो



काठमाडौं, माघ १९ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो ।

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।

मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ्लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा संक्रमण नदेखिएकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू त्रस्त भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ्लु भित्रिनु किसानका लागि थप चिन्ताको विषय बनेको सरोकारवालाहरूले बताएका छन् । कुखुरामा संक्रमण पुष्टि भइनसेकाले किसानहरूलाई हतास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ ।

पशुसेवा विभागले केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा शनिवार बर्डफ्लु पुष्टि भएपछि संक्रमण फैलिन नदिन विभागले संक्रमित क्षेत्रलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको क्षेत्रका हाँस, कुखुरा बट्टाई, टर्कीसहित २५ सय ४४ पन्छी, अण्डा र कुखुराको दानासमेत नष्ट गरिएको विभागले जानकारी दिएको छ ।

संक्रमणलाई थप फैलन नदिनका लागि सबै स्थानीय तह र प्रदेशस्थित जिल्ला पशु सेवा केन्द्र, पशु क्वारेन्टाइनहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । मन्त्रालय र विभागले अन्य ठाउँहरूमा संक्रमण फैलन नदिन सबै तयारी गरेकाले कखुरापालक किसान, व्यवसायी तथा यससँग सम्बद्ध सबैलाई नआत्तिन समेत उनले आग्रह गरेका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्