कोभिडका कारण धकेलिँदै शैक्षिक सत्र



जेठमा अन्तिम परीक्षा लिएर असारदेखि शुरू गर्ने तयारी

काठमाडौं,फागुन ३ । कोभिडका कारण अन्योलमा रहेको यसपटकको शैक्षिक सत्र जेठमा सकिने भएको छ । विगत वर्षमा वैशाखदेखि चैतसम्म विद्यालय सञ्चालनमा हुने गरेकोमा एक वर्षको कोर्सलाई चार महीनामा समायोजन गरेर विद्यार्थीलाई अन्तिम परीक्षाको नतीजा जेठसम्ममा निकाल्ने तयारी सरकारले गरेको छ ।

यससँगै नयाँ शैक्षिक सत्र असारदेखि शुरू हुनेगरी शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

शिक्षा पत्रकार समूहले आइतवार आयोजना गरेको ‘शिक्षाबार’को अन्तरक्रियामा सचिव मैनालीले भने, ‘जेठभित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी भइरहेको छ । शिक्षा नियमावली संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै राजपत्रमा प्रकाशित गर्नेछौं ।’

यस वर्षको शैक्षिक सत्र १४ महीना हुने भए पनि अर्को शैक्षिक सत्र भने १० महीनामा टुंग्याउनेगरी तयारी गर्नुपर्ने उनले बताए । असार र साउन आर्थिक वर्ष शुरू हुने समय भएकाले यससँग नजुध्नेगरी आगामी वर्षमा पुनः वैशाखदेखि नै शैक्षिक सत्र शुरू गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले मुख्यतः शैक्षिक सत्र, अन्तिम परीक्षा र कक्षा ११ को पाठ्यक्रमका सम्बन्धमा अन्योल देखियो । यसैले पाठ्यक्रमको सवालमा अदालतको आदेशसँगै निर्णय भइसकेकाले बाँकी अन्योल कायमै छ,’ उनले भने । मन्त्रिपरिषद् बैठकले माघ २६ मा कक्षा १० को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतीजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ निर्णय गरेको जानकारी उनले दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सरकारको निर्णयअनुसार बोर्डले परीक्षाको क्यालेण्डर सार्वजनिक गर्ने बताए । ‘शैक्षिक सत्र सरकारले निर्णय गर्ने विषय हो । यसपछि भने राजपत्रमा प्रकाशित भएअनुसार बोर्डले बैठक बसेर कक्षा १० र कक्षा १२ को परीक्षाको क्यालेण्डर सार्वजनिक गर्छ,’ उनले भने, ‘बोर्ड परीक्षा सञ्चालन र व्यवस्थापनका लागि सक्षम छ ।’ यससँगै कक्षा १० को परीक्षा आवेदन फारम खुलिसकेको र कक्षा १२ को आवेदन फारम तथा कक्षा ११ को रजिष्ट्रेशन खुल्ने प्रक्रियामा रहेको जानकारी उनले दिए ।

विद्यालयका शिक्षकहरूले भने थोरै समयमा पाठ्यक्रम सक्न र सिकाइ प्रभावकारी बनाउन चुनौती रहेको गुनासो गरेका छन् । नीलकण्ठ नगरपालिका, धादिङका प्रमुख भीम ढुंगानाले कक्षा भर्खर शुरू भएकाले कोर्स कसरी सक्ने भन्ने चिन्ता भएको बताए । संघीय सरकारले परीक्षा मात्र होइन, विद्यार्थीको सिकाइ सुनिश्चिततामा समेत ध्यान दिनुपर्ने उनले औंल्याए । अहिलेका यस्ता अन्योल प्रष्ट पार्न संघ, प्रदेश र स्थानीय तहबीच अन्तरक्रिया गर्न जरुरी भएको उनले बताए । यस्तै नन्दी मावि नक्सालका प्रधानाध्यापक गीता काफ्लेले विद्यालयहरू भर्खरै खुलेकाले जेठसम्ममा कोर्स पूरा गर्न मुश्किल पर्ने बताइन् । छोटो अवधिमा शिक्षकलाई जबर्जस्ती कोर्स सकाउनुपर्ने बाध्यताले विद्यार्थीको सिकाइ प्रभावकारी हुन नसक्ने उनको भनाइ छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्