टोखा १ को सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि टोखा नगरका प्रमुख प्रकाश अधिकारी

काठमाडौ,चैत ६ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ।

टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा झरना पार्टी प्यालेसमा सो प्रतियोगिता सम्पन्न भएको हो।प्रतियोगितामा नगर क्षेत्रका १० माध्यमिक विद्यालयका २० जना विद्यार्थी प्रतियोगीको सहभागिता रहेको थियो । जस अन्तर्गत नगर क्षेत्रका ८ सामुदायिक विद्यालय र वडा नम्बर १ का दुई निजि विद्यालयका प्रतियोगी सहभागी रहेका थिए ।

‘स्वस्थ जीवनका लागि स्वच्छ वातावरण’ विषयक वक्तृत्व कला प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि टोखा नगरका प्रमुख प्रकाश अधिकारी र विशेष अतिथिका रुपमा वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी रहेका थिए। कार्यक्रममा बोल्दै नगरका मेयर प्रकाश अधिकारीले नगर क्षेत्रमा विद्यालय र विद्यार्थी लक्षित कार्यक्रमलाई प्रोत्साहन दिदै उच्च प्राथमिकतामा राखेको बताए। प्रविधिमैत्री बनाउदै शिक्षा क्षेत्रको उत्पादनलाई अब्बल बनाउन टोखा नगर दत्तचित्त भएर लागिपरेको मेयर अधिकारीले उल्लेख गरे।

कार्यक्रमका बोल्दै विशेष अतिथि वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले वक्तृत्वकला जस्ता प्रतियोगितात्मक शैक्षिक कार्यक्रमले विद्यार्थीको वाक क्षमता वृद्धिका साथै समाज परिवर्तनका लागि महत्त्वपूर्ण सुत्र पत्ता लगाउन सहयोग पुग्ने बताए। वडा सेवा क्षेत्रमा यस्ता शैक्षिक गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गरे।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले प्रतियोगितामा उत्कृष्ट ४ विद्यालयका ४ विद्यार्थीलाई नगद क्रमश ५ हजार,३ हजार, २ हजार र १५ सयसहित प्रसंशापत्र प्रदान गरेका थिए।

प्रतियोगितामा तिर्लिङ्टार माध्यमिक विद्यालयकी छात्रा आकृति मिश्र प्रथम, बौडेश्वर माध्यमिक विद्यालयकी छात्रा श्रेया अधिकारी दोस्रो, सरस्वती माध्यमिक विद्यालयकी छात्रा ऋतु घिमिरे तेस्रो र सान्त्वना पुरस्कार आयोजक विद्यालय झोर महाँकाल माध्यमिक विद्यालयकी छात्रा देवी बुढामगरले पाएकी छिन। उत्कृष्ट विद्यार्थीको नामावली प्रतियोगिताका निर्णायक बिजेताको घोषणा डा. शैलेन्दु प्रकाश नेपालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सहयोगी दातालाई सम्मान कार्यक्रम समेत गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले उल्लेख गरेका छन् ।

सान्त्वना पुरस्कार ग्रहण गर्दै झोर महामहाँकाल माध्यमिक विद्यालयकी छात्रा देवी बुढामगर साथमा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायत
तेस्रो पुरस्कार ग्रहण गर्दै सरस्वती माध्यमिक विद्यालयकी छात्रा ऋतु घिमिरे साथमा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायत
दोस्रो पुरस्कार ग्रहण गर्दै बौडेश्वर माध्यमिक विद्यालयकी छात्रा श्रेया अधिकारी साथमा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायत
प्रथम पुरस्कार ग्रहण गर्दै तिर्लिङटार माध्यमिक विद्यालयकी छात्रा आकृति मिश्र साथमा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायत
विजेताका साथ तस्वीर खिचाउदै शिक्षक तथा अतिथि वर्ग

कार्यक्रम सम्बन्धित भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्