कक्षा ११ को गुणस्तरमा चुनौती



काठमाडौं, चैत १२ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउन्छन् ।

विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनका भनाई छ। यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उनले औँल्याए । यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उनको भनाई छ।

राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताए ।

कक्षा ११ को पठनपाठन र परीक्षा बिग्रेको अवस्थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्