देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय



काठमाडौं,चैत १६ । देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्री श्रेष्ठले सोमबार बसेको बैठकमा बोल्दै वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

सूचना सार्वजनिक पूर्व मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श समेत गरेका थिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बितेको केहि दिनदेखि उपत्यका काठमाडौसहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ ।  जल तथा मौसमविदहरुका अनुसार देशभर डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको जनाएका छन् । साथै  वायुमण्डलको तल्लो तहमा धुवाँ र त्योभन्दा माथि बादल परेकोले चैतमा चिसो बढेको मौसमविदहरुको भनाई छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्